दफा
प्राधिकरणको काम, कर्तव्य र अधिकार

यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त प्राधिकरणको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) प्रचलित कानून बमोजिम इजाजत प्राप्त वायुसेवा सञ्चालन संस्थाहरूलाई वायुसेवा सञ्चालन गर्न तोकिए बमोजिम अनुमति तथा प्रमाणपत्र प्रदान गर्ने, निलम्बन गर्ने वा रद्द गर्ने ।
(ख) प्रचलित कानून बमोजिम इजाजत प्राप्त हवाई उडान सम्बन्धी प्रशिक्षण संस्थाको सञ्चालन गर्न तोकिए बमोजिम अनुमति तथा प्रमाणपत्र प्रदान गर्ने, निलम्बन गर्ने वा रद्द गर्ने ।
(ग) प्रचलित कानून बमोजिम इजाजत प्राप्त वायुयान तथा वायुयानको पार्टपूर्जाहरूको उत्पादन, मर्मत तथा परीक्षण सहितको विस्तृत मर्मत (ओभरहल) गर्ने संस्थाहरूलाई तोकिए बमोजिम अनुमति दिने तथा त्यस्तो संस्थामा काम गर्ने प्राविधिज्ञलाई तोकिए बमोजिम इजाजत, कार्य क्षमताको स्तरीकरण (रेटिङ्ग) तथा प्रमाणपत्र दिने, नवीकरण गर्ने, रद्द गर्ने, स्थगित गर्ने, फिर्ता गर्ने तथा त्यस्तो इजाजत कार्य क्षमताको स्तरीकरण (रेटिङ्ग) र प्रमाणपत्र दिने सम्बन्धमा आवश्यक योग्यता तोक्ने तथा परीक्षा लिने ।
(घ) वायुसेवा सञ्चालनसंग सम्बद्ध तोकिए बमोजिमको योग्यता प्राप्त व्यक्तिहरूलाई तोकिए बमोजिम इजाजत, कार्य क्षमताको स्तरीकरण (रेटिङ्ग) तथा प्रमाणपत्र दिने, नवीकरण गर्ने, रद्द गर्ने, स्थगित गर्ने, फिर्ता गर्ने तथा त्यस्तो इजाजत कार्य क्षमताका स्तरीकरण (रेटिङ्ग) र प्रमाणपत्र दिने सम्बन्धमा आवश्यक योग्यता तोक्ने र परीक्षा लिने ।
(ङ) अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सदस्य राष्ट्र वा त्यस्तो राष्ट्रबाट अधिकार प्राप्त संघ संस्थाबाट वायु सेवा सञ्चालनसंग सम्बन्धित विषयहरूमा प्रदान गरेको इजाजत, कार्य क्षमताको स्तरीकरण (रेटिङ्ग) तथा प्रमाणपत्रहरू र वायुयान मर्मत तथा परीक्षण सहितको विस्तृत मर्मत (ओभरहल) गर्ने संस्थालाई नेपाली वायुयानको मर्मत तथा परीक्षण सहितको विस्तृत मर्मत (ओभरहल) गर्न मान्यता दिने ।
(च) वायुयानको तोकिए बमोजिम दर्ता (रजिष्ट्रेशन) गर्ने र चिन्ह अंकित (मार्किङ्ग) गर्ने ।
(छ) वायुयानको तोकिए बमोजिम उडान योग्यताको प्रमाणपत्र (सर्टिफिकेट अफ एयरवर्दिनेश) दिने, नवीकरण गर्ने र खारेज गर्ने ।
(ज) वायुयानको उडान, वायुयानबाट यात्रु, डाँक तथा मालसामान ओसार्ने र अन्य औद्योगिक व्यवसाय सम्बन्धी कामको निमित्त वायुयानको प्रयोग गर्न पाउने अवस्थाहरू तोक्ने ।
(झ) वायुयान, वायुयान राख्ने स्थान, वायुयान उडान तथा वायुयान सेवा सञ्चालन सम्बन्धी व्यवस्था र वायुयान मर्मत तथा परीक्षण सहितको विस्तृत मर्मत ओभरहल) गर्ने स्थानको निरीक्षण गर्ने ।
(ञ) प्रचलित कानून बमोजिम नेपाल सरकारले निषेध गरेको क्षेत्र तथा स्थान बाहेक नेपाल भित्र वायुयान प्रवेश गर्ने, नेपाल बाट वायुयान प्रस्थान गर्ने, नेपाल माथि उडान गर्न पाउने अवस्था, हवाई मार्ग र वायुयान अवतरण गर्ने स्थानहरू तोक्ने ।
(ट) विमानस्थल तथा विमानस्थल क्षेत्रभित्र अग्नि निवारण तथा जीवनोद्धार सेवा उपलब्ध गराउने र खोज तथा उद्धार कार्यमा समन्वय गर्ने ।
(ठ) विमानस्थलमा भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डिलिंग) सेवा सञ्चालन गर्ने, गराउने ।
(ड) दृष्टिगत र यान्त्रिक उडान (भिजुयल एण्ड इन्टुस्मेण्ट फ्लाइट) गर्ने तथा हवाई मानचित्र (एरोनटिकल चार्टस्) को आवश्यकता तोक्ने, त्यस्तो मानचित्र तयारगर्ने तथा प्रचलन गर्ने र उडानको लागि मौसम सम्बन्धी सूचना आदान प्रदान गर्ने ।
(ढ) हवाई यातायात सेवा तथा सो सम्बन्धी विषयको प्राविधिक जाँचबुझ गर्न प्राधिकरणले आफ्नोे वायुयान राख्ने र प्रयोग गर्ने ।
(ण) हवाई उडान सेवा (एयर ट्राफिक सर्भिस), हवाई उडान सूचना सेवा (फ्लाइट इन्फर्मेशन सर्भिस), सचेत गर्ने सेवा (एलर्टिङ्ग सर्भिस), हवाई उडान सल्लाह सेवा एयर ट्राफिक एडभाइजरी सर्भिस), हवाई उडान नियन्त्रण सेवा (एयर ट्राफिक कन्ट्रोल सर्भिस) र हवाई पथ प्रदर्शन सेवा तथा सुविधा (एयर नेभिगेशन सर्भिस तथा फेसिलिटिज), क्षेत्र नियन्त्रण सेवा (एरिया कन्ट्रोल सर्भिस), पहुँच क्षेत्र नियन्त्रण सेवा (एप्रोच कन्ट्रोल सर्भिस) तथा विमानस्थल नियन्त्रण सेवा (एरोड्रम कन्ट्रोल सर्भिस) उपलब्ध गराउने ।
(त) हवाई सञ्चार सम्बन्धमा प्रयोग गरिने नापको इकाई तोक्ने, वायुयानद्वारा वा वायुयानमा सन्चारको निमित्त प्रयोग गरिने संकेत र त्यस्तो संकेत दिंदा प्रयोग हुने यन्त्र तोक्ने ।
(थ) वायुयानको आवाज नियन्त्रण गर्ने र वायुयान सन्चालनबाट वायुमण्डल तथा वातावरणमा हुने प्रदूषणमा रोक लगाउने ।
(द) खतराजन्य वस्तु तथा पदार्थहरूको वायुयानद्वारा ओसार पसार गर्न निषेध तथा नियन्त्रण गर्ने र परिमाण तोक्ने ।
(ध) हवाई उडान अनुमति प्रदान गर्ने र वायुयानका चालकहरूको काम, कर्तव्य, उडान तथा विश्राम समय तोक्ने ।
(न) हवाई यातायात सेवा सञ्चालनमा लाग्ने यात्रु तथा मालसामानको ढुवानीको भाडा दस्तूर निर्धारण गर्ने सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने ।
(प) विमानस्थल, विमानस्थल क्षेत्र र त्यहाँ उपलब्ध सेवा सुविधाहरूलाई अधिकतम आर्थिक लाभ र सदुपयोग हुने गरी तोकिए बमोजिम प्रयोग गर्ने वा गर्ने दिने ।
(फ) अन्तर्राष्ट्रिय नागरिक उड्डयन सम्बन्धी महासन्धि (कन्भेन्सन) बाट पारित भई नेपाल सरकारबाट अनुमोदन भएको र सो महासन्धि अन्तर्गत बनेको तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आई.सि.ए.ओ.) बाट निर्धारित मापदण्ड स्ट्याण्डर्डस्) र सिफारिशहरू (परिशिष्ट तथा दस्तावेज) आदि आवश्यकतानुसार लागू गर्ने, गराउने ।
(ब) प्राधिकरणको स्वामित्वमा रहेको भवन, वायुयान, यन्त्र, उपकरण आदि सम्पत्तिको आवश्यकतानुसार विमा गर्ने ।
(भ) नेपाल सरकारले तोकेका अन्य कार्यहरू गर्ने, गराउने ।